
धनकुटा । धनकुटामा नेकपा एमालेले प्रदर्शन गरेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएपछि देशभरसँगै धनकुटामा पनि एमालेले प्रदर्शन गरेको हो ।
आज प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय पुगेर एमालेले धनकुटाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापन पत्रमा सरकारले राजनीतिक प्रतिशोधका आधारमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाइएको छ ।

शनिबार बिहान अध्यक्ष ओलीलाई पक्राउ गरिएको घटनालाई एमालेले नियोजित र पूर्वाग्रही ठहर गरेको छ । कथित कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको बहानामा लोकतान्त्रिक शक्तिहरूमाथि प्रहार सुरु गरिएको भन्दै जिल्ला कमिटीले यसको घोर निन्दा गरेको छ ।

एमाले धनकुटाका अध्यक्ष शिव आङ्ला लिम्बुद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा पक्राउ परेका सबै नेताहरूलाई तत्काल र बिना सर्त रिहा गर्न जोडदार माग गरिएको छ । ज्ञापनपत्रमा कार्की आयोगको प्रतिवेदन अपुरो र अत्यन्तै पूर्वाग्रही रहेकाले त्यसलाई तत्काल खारेज गर्नुपर्ने उल्लेख छ ।

विगतका विभिन्न विनाशकारी घटनाहरू र आपराधिक क्रियाकलापमा संलग्नहरूको निष्पक्ष छानबिन गरी वास्तविक प्रतिवेदन तयार पार्न एक अधिकारसम्पन्न, स्वतन्त्र र निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने माग समेत एमालेले राखेको छ ।


सन्तोष सुवेदी/संगालोखबर 



















