
पाँचथर । पाँचथर र ताप्लेजुङमा निर्माणाधीन दुईवटा पुल भाँचिएका छन् । मंगलबार राति आएको बाढीले पाँचथरको याङ्बरक गाउँपालिका-२ स्थित मेवाखोला र ताप्लेजुङको नेरुवा खोलामा निर्माण भइरहेका पुल भाँचिएका हुन् ।
प्राविधिकहरूका अनुसार अचानक आएको बाढीले सपोर्ट कमजोर पारेपछि पुल भाँचिएका हुन् । पाँचथरस्थित मेवाखोलामा निर्माणाधीन ४० मिटर लामो पुलको करिब ९० प्रतिशत काम सम्पन्न भएको थियो ।
मध्यपहाडी लोकमार्ग फिदिम आयोजना कार्यालयका अनुसार चैत २ गते मात्र पुलको ढलान गरिएको थियो । उक्त पुल ७ करोड ७६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको थियो । यसअघि पनि सोही स्थानमा रहेको पुल बाढीले बगाएको थियो ।
ताप्लेजुङको नेरुवा खोलामा ३५ मिटर लामो पुल पनि अन्तिम चरणमा पुगेको अवस्थामा भाँचिएको हो । पूर्वाधार कार्यालयका अनुसार ढलानपछि आवश्यक समय नपुग्दै बाढी आएर सपोर्टमा क्षति पुर्याउँदा पुल भत्किएको छ । उक्त पुल ७ करोड ४७ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको थियो ।

संगालोखबर 


















