
धनकुटा । नेपालमा वार्षिक करिब ६७ हजार क्षयरोगका बिरामी थपिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाले विश्व क्षयरोग दिवसको अवसरमा आज आयोजना गरेको अभिभुखिकरण कार्यक्रममा यस्तो तथ्याङ्क पाइएको हो ।
विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल वार्षिक १६ हजार जनाको क्षयरोगका कारण मृत्यु हुने छ । मधेश र बागमती प्रदेशमा क्षयरोगका धेरै बिरामी रहेको तथ्याङ्कमा उल्लेख छ ।
देशभर डट्स केन्द्रहरूको संख्या छ हजारभन्दा बढी पुगेको छ भने आधुनिक परीक्षण प्रविधिको प्रयोग पनि विस्तार भइरहेको धनकुटा नगरपालिका स्वास्थ्य शाखा प्रमुख भोजराज भण्डारीले बताए ।
धनकुटामा हाल ६८ जना क्षयरोगका बिरामी रहेको जनाइएको छ । नेपाल सरकारले वि.स . २०९१/९२ मा नेपालबाट क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । जर्मन चिकित्सक रबर्ट कुकले सन् १९८२ मार्च २४ तारिखमा क्षयरोग अर्थात् टिबीको कीटाणु पत्ता लगाएको सम्झनामा हरेक वर्ष मार्च २४ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।
यसपटक ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ, राष्ट्रिय अभियान हाम्रो योगदान’ भन्ने नारा सहित दिवस मनाइएको छ ।

संगालोखबर 


















