
झापा । झापाका वामपन्थी तथा कम्युनिष्ट नेताहरूले नेपाली कम्युनिष्ट आन्दोलन गम्भीर संकटमा परेको ठहर गर्दै यसको रक्षा र शुद्धीकरणका लागि व्यापक पुनर्गठन र ध्रुवीकरणको अभियान सुरु गर्ने घोषणा गरेका छन् ।
एक संयुक्त अपिल जारी गर्दै विभिन्न कम्युनिष्ट घटकमा आबद्ध १० जना नेताहरूले वर्तमान नेतृत्वको कार्यशैली, वैचारिक विचलन र सत्ता स्वार्थका कारण आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बताएका हुन् ।
उनीहरूले जारी गरेको अपिलमा २०८२ को आम निर्वाचनमा वामपन्थी शक्तिहरूले व्यहोरेको परिणामलाई संसदीय इतिहासकै गम्भीर पराजयको रूपमा व्याख्या गरिएको छ । नेतृत्वमा देखिएको अहंकार, अपारदर्शी कार्यशैली, अराजनीतिक गुटबन्दी र जनताका दैनिक सरोकारभन्दा सत्ता केन्द्रित राजनीतिको कारण आम मतदातामा चरम निराशा छाएको नेताहरूको निष्कर्ष छ ।
२०७४ सालको एमाले-माओवादी एकताले उचाइ लिए पनि पछिल्लो समयको विभाजन र संसद् विघटन जस्ता घटनाले आन्दोलनलाई धक्का पुर्याएको अपिलमा उल्लेख छ । नेताहरूले अब पुरानै ढर्राबाट आन्दोलन अघि बढ्न नसक्ने भन्दै पार्टीहरूमा कार्यकारी उमेरको हद, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको सुनिश्चितता हुनुपर्ने माग अघि सारेका छन् ।
झापा विद्रोहको विरासत र सहिदहरूको बलिदानलाई स्मरण गर्दै उनीहरूले अब राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन र समाजवादको यात्राका लागि सम्पूर्ण देशभक्त वामपन्थीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
स्वतन्त्र वामपन्थी नेता नरेश खरेल, नेकपा एमालेका रविन कोइराला र गणेश पोख्रेल, नेपाली कम्युनिष्ट पार्टीका झलकसिंह दर्लामी, रञ्जित तामाङ, ज्योतिसिंह दर्लामी र पुष्प पोख्रेल, प्रजातान्त्रिक लोकतान्त्रिक पार्टी (प्रलोपा) का लक्ष्मीदेवी न्यौपाने, नेकपा संयुक्तका नीलमणि बराल र नेकपा (माओवादी) का अर्जुन पाण्डेले अपिल पत्रमा हस्ताक्षर गरेका छन् ।
उनीहरूले यस अभियानलाई साझा अभियानको रूपमा अगाडि बढाउँदै वामपन्थी आन्दोलनलाई एकीकृत र गतिशील बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।



संगालोखबर 


















