
विराटनगर। आज विश्व क्षयरोग दिवस मनाइँदैछ । प्रत्येक वर्ष मार्च २४ मा यो दिवस मनाउने गरिन्छ । यो वर्ष ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । दिवसको अवसरमा नेपालसहित विश्वभर विविध जनचेतनामूलक कार्यक्रम गरिँदैछ ।
जनस्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको क्षयरोग नियन्त्रणका लागि सचेतना फैलाउने उद्देश्यले यो दिवस मनाइन्छ । तर, पछिल्ला तथ्यांकहरूले नेपालमा रोगको अवस्था अझै चिन्ताजनक रहेको देखाउँछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार सन् २०२४ मा नेपालमा मात्रै करिब ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । यो संख्या देशको स्वास्थ्य प्रणाली, जनचेतना र जीवनशैलीसँग जोडिएको जटिल चुनौतीको संकेत हो ।
सरकारले सन् २०३५ सम्म नेपालबाट क्षयरोग अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई पूर्ण रूपमा क्षयरोगमुक्त बनाउने दीर्घकालीन लक्ष्य लिएको छ । यही लक्ष्यलाई केन्द्रमा राख्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

संगालोखबर 

















