संगालोखबर


खोटाङ । खोटाङको हलेसीमा निर्माणाधीन नगर अस्पताल अलपत्र पार्ने निर्माण कम्पनीको गाडी हलेसी तुवाचुङ नगरपालिकाले नियन्त्रणमा लिएको छ ।

ठेक्का लिएर काम नगरी अलपत्र पार्ने नमुना हिमालयन जेवी विराटनगर सम्वद्ध रमेश बस्नेत चढेको बागमती प्रदेश १६ च ६८०२ नम्बरको सुजुकी कार आइतबार नगरपालिकाले नियन्त्रणमा लिएको हो ।

Advertisement

कानुनी आधारमा पटक-पटक ताकेता गर्दा समेत नटेरेकाले बोलाएरै नियन्त्रण लिएको हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ । गाडी नियन्त्रणमा लिएपछि नगरपालिकाले आइतबारै जिल्ला प्रशासन कार्यालय खोटाङलाई लिखित जानकारी गराएको छ ।

काम नगरेकाले कालो सूचीमा राख्ने जानकारी गराउँदै बोलाएपछि गाडी नियन्त्रणमा लिएर काम गर्नेबारे लिखित प्रतिबद्धता समेत गराइएको छ ।

प्रतिबद्धतापत्रमा चैत १२ गतेदेखि काम सुरु गर्ने, त्यसको ४५ दिनभित्र केसमेन्ट कभर स्याब ढलान गर्ने, ६० दिनभित्र फस्टफ्लोर स्याव सक्ने, त्यसपछिको ६० दिनभित्रमा सेकेन्ड फ्लोरको स्याब सम्पन्न गर्ने प्रतिबद्धता गराइएको छ ।

उक्त निर्माण कम्पनीले २०८० साउन ७ गतेसम्म सक्ने गरी २०७८ साउन ७ गते सम्झौता गरेको थियो । संघीय सरकारको ११ करोड ९९ लाख १९ हजार ६ सय २९ रुपैयाँ (भ्याट बाहेक) बजेटको उक्त अस्पताल भवनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका ३ सय ९६ वटा अस्पताल भवन एकसाथ शिलान्यास गरेका थिए ।

उक्त भवन बेलामा नबनेपछि पटक-पटक निर्माणअवधि थपिदै आएको छ । पछिल्लो अवधिमा २०८२ असार २९ गतेको कार्यपालिकाको बैठकले तेश्रो पटक २०८३ साउन ७ गतेसम्मका लागि म्याद थप गरेको छ । उक्त भवनको बेसको पिलर मात्र उठाएको छ ।

अहिलेसम्म करिब ३४ प्रतिशत बराबरको ४ करोड भुक्तानी भएको हलेसी तुवाचुङ नगरपालिकाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!