
विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ मा एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको छ । आज अपराह्न १२ः२ बजे ल्याण्ड गर्ने क्रममा एयर डाइनेस्टीको नाइन एन एएचक्यु हेलिकप्टर दुर्घटनामा परेको हो ।
काठमाडौंबाट आमाको काजकिरियाका लागि परिवारका सदस्य लिएर आएको हेलिकप्टर दुर्घटना भएको खोटाङकी प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले संगालोखबरलाई जानकारी दिइन् ।
हेलिकप्टरमा पाइलट सविन थापासहित ५ जना सवार थिए । जसमध्ये हेलिकप्टरमा सवार काजी बहादुर राई घाइते भएका खोटाङका प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीले संगालोखबरलाई जानकारी दिए ।
‘हेलिकप्टरमा पाइलटसहित ५ जना सवार हुनुहुन्थ्यो’, उनले भने, ‘पाइलट र घाइतेलाई अर्को हेलिकप्टर बोलाएर काठमाडौं पठाइसकिएको छ ।’ दुर्घटनामा मानवीय क्षति नभएको उनले जानकारी दिए । पाइलटसहित अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 















