
धनकुटा । जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाइएसँगै आवश्यक उपकरण खरिद गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धनकुटाको व्यवस्थापनमा स्थापना हुन लागेको ब्लड बैंकका लागि आवश्यक पर्ने उपकरण खरिद गर्न लागिएको हो ।
अस्पतालमा स्थापना हुन लागेको ब्लड बैंकका लागि आवश्यक पर्ने करिब १६ लाख ५० हजार रुपैयाँ बराबरको उपकरण खरिद गर्ने निर्णय गरिएको समितिका संयोजक ठगेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।
सामान खरिदका लागि विभिन्न सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि तथा सरोकारवाला निकायका प्रतिनिधिहरू र जनप्रतिनिधिहरूसँग छलफल गरिएको छ । ब्लड बैंक स्थापनाका लागि समिति बनाएर धमाधम काम अगाडि बढाइएको छ ।
रेडक्रस सोसाइटी धनकुटाका सभापति छत्रकुमार श्रेष्ठका अनुसार समितिले आवश्यक उपकरण खरिदका लागि सूचना प्रकाशन गर्ने र सामग्रीको व्यवस्था गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
जिल्ला अस्पताल धनकुटामा ब्लड बैंक स्थापना भएपछि छिमेकी जिल्ला भोजपुर, संखुवासभा र तेह्रथुमका बिरामीलाई समेत सहज हुनेछ । ब्लड बैंक नहुँदा आकस्मिक तथा जटिल उपचारमा गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरका अस्पतालमा जानुपर्ने बाध्यता छ ।
तर ब्लड बैंक स्थापना भएपछि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । यसका लागि गैरआवासीय नेपाली संघको सचिवालय (एनआरएनए) का प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतको पहलमा १६ लाख ४५ हजार रुपैयाँ संकलन भएको छ ।
सामान खरिद इकाई समितिका सदस्य तथा पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासका अनुसार ब्लड बैंक स्थापनाका लागि आवश्यक आर्थिक सहयोग जुटाउने काम भई रहेको छ । उनले सबैसँग सकेको सहयोग गर्न समेत आग्रह गरिएको बताए ।

सन्तोष सुवेदी/संगालोखबर 















