
धनकुटा । सुख्खा पहिरोका कारण भेडेटार-राजारानी-रविराँके सडकखण्ड तीन दिनदेखि अवरुद्ध भएको छ । साँगुरीगढी गाउँपालिका-६ स्थित नाम्जेमा माथिबाट झरेको सुख्खा पहिरोका कारण सडक सञ्चालनमा आउन नसकेको हो ।
शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछी सडक पूर्णरूपमा अवरुद्ध भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । जेसीवीको सहायताले सडक खुलाउने काम भइरहे पनि निरन्तर पहिरो खस्दा समस्या भएको उनको भनाइ छ ।
निरन्तर सडक खुलाउने प्रयास भइरहेको भएपनि सम्भव नभएको उनले बताए । उनका अनुसार आज पनि सडक सञ्चालनमा आउने सम्भावना न्यून छ । सडक अवरुद्ध भएपछि पाँचथरको रविदेखि सञ्चालन हुने लामो तथा छोटा दूरीका सवारी-साधान सञ्चालनमा आउन सकेका छैनन् ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले निर्माणधीन सडक कटिङको काम भइरहेको र माथिबाट झरेको सुख्खा पहिरोले सडक अवरुद्व भएको बताए । उनका अनुसार सो स्थानको करिब १ सय मिटर क्षेत्रमा लगातार पहिरो झरिरहेको छ ।
‘सडक खुलाउने प्रयास भइरहेको छ । तर सुख्खा पहिरोले समस्या भएको छ’, उनले भने । सडक अवरुद्ध भएपछि धनकुटाको चौबिसे गाउँपालिकाको माथिल्लो क्षेत्र साथै पाँचथर जिल्लाको पश्चिमी भागतर्फको यातायात सञ्चालन पूर्णरूपमा प्रभावित भएको छ ।
यात्रुलाई सुरक्षित र वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरिएको छ । वैकल्पिक सडकमार्ग अन्तरगत डाँडा बजार-बुढीमोरङ-मुलघाट साथै राजारानी-केराबारी मार्ग हुँदै यात्रा गर्न भनिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













