
धनकुटा । धनकुटा नगरपालिका-९ स्थित मूलघाटमा करिब २ सय जनाको निःशुल्क आँखा परीक्षण गरिएको छ । नेपाल नेत्र ज्योति संघद्वारा संचालित डा. रामप्रसाद आँखा अस्पताल धनकुटाले आयोजना गरेको एक दिने शिविरमा २ सयले निःशुल्क सेवा पाएका हुन् ।
मूलघाटमा रहेको कौशिला आधारभूत विद्यालयका १ सय १५ जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएकोमा ११ जनालाई निःशुल्क चस्मा वितरण गरिने नेपाल नेत्र ज्योति संघका केन्द्रिय प्रवक्ता दोर्ण गुरागाईंले बताए ।

यस्तै विश्रान्ति वृद्धाश्रममा ४५ जना भन्दा बढीको निःशुल्क आँखा परीक्षण गरिएकोमा ९ जनाको अप्रेसन गर्नु पर्ने भएको छ । यस्तै गुरुकुलमा अध्ययनरत ३७ जनाको आँखा जाँच गरिएकोमा ५ जनालाई निःशुल्क चस्मा वितरण गरिने संघले जनाएको छ ।
गुरागाईंका अनुसार चस्मा आवश्यक पर्ने र अप्रेसन गर्नुपर्नेहरूका लागि केही दिनमा डा. रामप्रसाद आँखा अस्पतालमा ल्याएर निःशुल्क अप्रेसन र चस्मा वितरण गरिने छ । आँखा अस्पतालले वार्षिक रूपमा विभिन्न कार्यक्रम तय गर्दै निःशुल्क आँखा परिक्षण गर्दै आएको छ ।

संगालोखबर 













