
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-६ स्थित थलथले बजारमा छड्के अनुगमन गरिएको छ । आज थलथले बजारमा सञ्चालित करिब एक दर्जन किराना तथा खुद्रा पसलको अनुगमन गरि म्याद गुज्रिएका खाद्यान्न बस्तु नष्ट गरिएको हो ।
घरेलु तथा साना उद्योगको कार्यालय, जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ, कर कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र राष्ट्रिय उपभोक्ता मञ्चले संयुक्त रूपमा बजार अनुगम गरेका हुन् ।
अनुगमनका म्याद गुज्रिएका खाद्यान्न तथा पेय पदार्थ जफत गरेर नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धनकुटाका खाद्य निरीक्षण अधिकारी सुशील कोइरालाले जानकारी दिए ।
घरेलु तथा साना उद्योगको कार्यालयका सूचना अधिकारी विकास कार्कीका अनुसार कतिपय पसलहरूमा मूल्य सूची नराखेको भेटिएको छ । उनीहरूलाई मूल्य सूची राख्न निर्देशन दिइएको उनले बताए ।
आगामी दिनमा म्याद गुज्रिएका तथा अखाद्य बस्तु बेचेको भेटिएमा कारबाही गर्ने चेतावनी समेत दिइएको कार्कीले जानकारी दिए । उपभोक्ताहरू ठगी हुनबाट जोगिउन भन्ने उद्देश्यले बजार अनुगमनलाई तीब्र पारिएको उनको भनाइ छ ।

सन्तोष सुवेदी/संगालोखबर 















