
विराटनगर । उदयपुर क्षेत्र नम्बर २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको खुलेको छ । अन्तिम मतपरिणाम सार्वजनिक भइसकेपछि तामाङ कालो सूचीमा रहेको विषय बाहिरिएको हो ।
तामाङले १४ हजार ८०२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अम्बरबहादुर रायमाझी ७ हजार ६४८ मत पाएका थिए । यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामकुमार राईले ७ हजार २९० मत ल्याएर तेस्रो भएका थिए ।
तामाङको कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालिको कारोबारका कारण उनी कर्जा सूचना केन्द्रको कालो सूचीमा परेको देखिन्छ । उक्त कम्पनीको नाम कालो सूचीको १०१,५१४ नम्बरमा रहेको छ । कम्पनीको सञ्चालकमा लीला राई र सूर्यबहादुर तामाङ दुवैको नाम उल्लेख गरिएको छ ।
केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार उनी संलग्न रहेको कम्पनीबाट पटकपटक चेक बाउन्स भएपछि कम्पनी र सञ्चालक दुवै कालो सूचीमा परेका हुन् ।
धनुषा क्षेत्र नम्बर-१ मा कालो सूचीमा परेका कारण रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी नै खारेज भएको थियो । साहको उम्मेदवारी खारेज भएपछि सो क्षेत्रबाट नेकपाका मातृका यादव निर्वाचित भइसकेको छन् । आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णयविरुद्ध साहले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

संगालोखबर 















