सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा लागि खटिएका ९ सय ८९ जना निर्वाचन प्रहरीलाई विभिन्न सीपमूलक तालिम दिइने भएको छ । निर्वाचन प्रहरीलाई जीविकोपार्जनमा सहयोग पुग्ने सीपमूलक तालिम दिने तयारी गरिएको हो ।

उनीहरूलाई आयआर्जन र उद्यम विकाससँग जोड्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) तथा घरेलु तथा साना उद्योग कार्यालय धनकुटासँगको समन्वयमा तालिममा सहभागि गराउने योजना अघि सारिएको छ ।

उनीहरूलाई खाली हात घर फर्काउनु भन्दा जीविकोपार्जनमा सहयोग पुग्ने सीप सिकाएर पठाउने उद्देश्यले विभिन्न सीपमूलक तालिमममा सहभागि गराउन लागिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताए ।

उत्तरपानीस्थित प्राविधिक शिक्षालय र घरेलु कार्यालयसँग समन्वय गरी होटल व्यवस्थापन, प्लम्बर, इलेक्ट्रिसियन, फर्निचर तथा मुडा बनाउने, सिलाइ-कटाइ जस्ता विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने जनाइएको छ । यस्तै मोबाइल तथा मोटरसाइकल मर्मत, बेल्डिङ, घर पेन्टिङ र कपाल काट्ने (सैलुन) लागायतका तालिम दिने विषयमा छलफल भइरहेको छ ।

तालिम पछि गाउँघरमा नै रोजगारी सिर्जना गर्न सक्ने क्षेत्रलाई प्राथमिकता दिइएको जनाइएको छ । यस्तै तालिमबाट कृषि तथा पशुपालनतर्फ उनीहरूलाई आकर्षित गर्ने योजना छ ।

यस्तै कुखुरा पालन, बाख्रा पालन, च्याउ खेती, तरकारी खेती, मौरी पालन जस्ता कामबाट सानो लगानीमा घरमै धेरै आम्दानी गर्न सकिने सम्भावनाबारे जानकारी दिइने छ । तालिममार्फत घरेलु उद्यमका सम्भावना, उद्योग स्थापना प्रक्रिया, लगानी व्यवस्थापन तथा व्यवसाय सञ्चालनका मोडलबारे समेत जानकारी दिइने प्रजिअ खड्काले जानकारी दिए ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाहरुसँग सहकार्य गरी तालिम प्राप्त निर्वाचन प्रहरीलाई सहुलियतपूर्ण घरेलु उद्यम कर्जासँग जोड्ने तयारी छ । निर्वाचनमा खटिएका इच्छुक निर्वाचन प्रहरीलाई छनोटका आधारमा तालिम प्रदान गरिने छ ।

साना-सान कामबाट पनि छिटो आम्दानी गर्न सकिने भएकाले अवसरबारे जानकारी गराउँदै उनीहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्य रहेको छ । निर्वाचनमा खटिएकामध्ये करिब आदिले मात्रै तालिम लिए भने पनि करिब २५ सय परिवारका लागि सानोतिनो आम्दानीको बाटो खुल्ने प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले निर्वाचन प्रहरीलाई दीर्घकालीन रूपमा उपयोगी हुने सीप प्रदान गर्ने उद्देश्यले कार्यक्रम अघि सारिएको बताए ।

तालिममार्फत घरेलु उद्योगका विभिन्न प्रकार, स्थानीय स्तरमा उपलब्ध स्रोतसाधनको प्रयोग, साना उद्यम सञ्चालनका सम्भावना तथा रोजगारी सिर्जनाका विविध पक्षबारे निर्वाचन प्रहरीलाई जानकारी गराइने छ ।

यसबाट उनीहरूलाई उद्यम र आयआर्जनका गतिविधिमा जोड्ने तथा स्थानीय स्तरमै साना उद्यमी उत्पादन गर्ने लक्ष्य राखिएको बताइएको छ । निर्वाचन सुरक्षा प्रहरीलाई घरेलु उद्योग र आयआर्जन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर फागुन २८ गतेबाट बिदा दिइने जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!