
धनकुटा । प्रतिनिधि सभा निर्वाचन अन्तरगत धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले मतदान गरेका छन् । पाख्रीबास नगरपालिका-७ मुगास्थित सरस्वती प्राथमिक विद्यालयमा रहेको मतदान केन्द्रमा पुगेर राईले मतदान गरेका हुन् ।
यस्तै आम जनता पार्टीबाट उम्मेदवार रहेका प्रेम बहादुर थापाले पनि यही मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदाताहरू उत्साहित भएर मतदान गर्न आइरहेका छन् । धनकुटाका मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा ७ बजेबाट मतदान सुरु भएको छ ।

धनकुटामा १६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र छन् । जिल्लामा कुल १ लाख १८ हजार ४ सय २५ मतदाता छन् । तीमध्ये ५० हजार ४ सय ८३ जना पुरुष र ५८ हजार ९ सय ४२ महिला छन् । धनकुटामा ३ जना स्वतन्त्र उम्मेदवारसहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

मतदान केन्द्रमा निर्वाचन सुरक्षार्थ नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी खटिएको तथा सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए ।


सन्तोष सुवेदी/संगालोखबर 















