
विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापा-५ र सर्लाही-४ मा विशेष सुरक्षा अपनाइएको छ । सर्वाधिक चर्चामा रहेका यी दुई क्षेत्रमा सुरक्षा चुनौती थपिएको विश्लेषण गर्दै विशेष सुरक्षा अपनाइएको हो ।
झापा-५ मा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह उम्मेदवार छन् । यस्तै सर्लाही-४ मा काँग्रेस सभापति गगन थापा र रास्वपामा अमरेशकुमार सिंह उम्मेदवार छन् ।
यी क्षेत्रमा केही घटना हुनसक्ने विश्लेषणसहित थप प्रहरी खटाउनेदेखि सूचना संकलनका लागि सादा पोशाकका प्रहरी पनि परिचालन गरिएको छ । अहिले झापा र सर्लाहीमा सादा पोशाकमा सूचना संकलनका लागि पनि पर्याप्त मात्रामा प्रहरी खटाइएको छ ।
झापामा मात्रै २२ जना सिनियर प्रहरी अधिकृत, अन्य दर्जाका प्रहरी ७५५ गरी ७७८ जना खटाइएको छ । यो बाहेक प्रहरी मातहत नै रहने गरी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन छ ।
सर्लाहीमा सिनियर प्रहरी अधिकृत मात्रै २५ जना खटाइएको छ । जुनियर प्रहरी अधिकृत ११९ जना र अन्य दर्जाका प्रहरी ६४८ जना गरी ७९२ जना खटाइएको छ । प्रहरी मातहत नै रहने गरी निर्वाचन प्रहरी, सशस्त्र प्रहरी बल, सशस्त्र निर्वाचन प्रहरी र नेपाली सेनाको टोली पनि परिचालन गरिएको छ ।


संगालोखबर 















