सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । शहरी विकास तथा भवन निर्माण कार्यालय पूर्वाधार विकास कार्यालयमा गाभिँदा धनकुटामा निर्माणाधीन सरकारी भवन अलपत्र परेका छन् । ठेक्का लागेर निर्माण सुरु भएका ११ वटा भवनको काम पुरा नहुँदै कार्यान्वयन गराउने कार्यालय गाभिँदा भवन अलपत्र परेका हुन् ।

निर्माणको ठेक्का लगाउने कोशी प्रदेशको शहरी विकास तथा भवन निर्माण कार्यालय गत साउनदेखि पूर्वाधार विकास कार्यालयमा गाभिएको थियो । उक्त कार्यालय पूर्वाधार विकास कार्यालयमा गाभिए पनि अघिल्लो कार्यालयले थालेको कामको स्वामित्व लिई अधुरा योजना अघि बढाउन चालु आर्थिक वर्षमा बजेट तथा कार्यक्रम समावेश नै गरेको छैन ।

जसका कारण भवन निर्माणको बाँकी काम अन्योलमा परेको पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख उत्तमनारायण खरेलले बताए । प्रदेशको तत्कालीन सहरी विकास तथा भवन कार्यालयमार्फत जिल्लामा रहेका विभिन्न स्थानीय तहमा भवन निर्माण सुरु गरिएको थियो ।

पाख्रीबास नगरपालिकास्थित सामुदायिक भवन, चौबिसे, छथर जोरपाटी र सहिदभूमि गाउँपालिकामा सामुदायिक भवन, शिखरपुरमा सांस्कृतिक भवन र महालक्ष्मी नगरपालिकामा चामु शन्दलिया सेवा समाजको भवन निर्माण कार्य अघि बढाइएको थियो ।

यस्तै धनकुटा नगरपालिका-३ स्थित सिप्तिङको कृषि भवन, हिले स्थित बहुउद्देश्यीय भवन, सिरवानीस्थित मदन आश्रित स्मृति प्रतिष्ठान पुस्तकालय र बेलहराको सामुदायिक भवन निर्माण कार्य अघि बढाइएको थियो ।

उक्त निर्माणधीन भवनहरू अधुरा, अपुरा र अलपत्र अवस्थामा छाडिएको छ । जसमध्ये केही भवनको सिल लेभल, डिपिसी ढलान, केही आधा संरचना र केही आरसीसी संरचनाको ९० प्रतिशतसम्म काम सम्पन्न भएको छ ।

कतिपय भवनमा भने पहुँचमार्ग, रंगरोगन, शौचालय, विद्युत तथा सेनेटरी जडान लगायतका काम बाँकी रहेको खरेलले बताए । अधुरा ११ वटा भवनको बाँकी काम सम्पन्न गर्न करिब २५ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

कार्यालय संरचना परिवर्तन भएका कारण यसअघि भवनमा भएको लगानीको यकिन विवरण समेत उपलब्ध नभएको कार्यालयले जनाएको छ । आवश्यक बजेटको प्रस्ताव मन्त्रालयमा पेस गरेको र एकदमै कम खर्चमा यि भवन संचालनमा ल्याउन सकिने उनको भनाइ छ ।

नयाँ कार्यालयले पुराना योजनाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्न आवश्यक बजेट तथा कार्यक्रम समावेश नगर्दा भवन निर्माणको काम रोकिएको स्थानीयको गुनासो छ । विगतमा ठेक्का लागेका तर निर्माण पूरा नभएका ११ वटा भवन चालु आर्थिक वर्ष २०८२/०८३ मा समेत कार्यक्रममा नपरेको कागते सिप्तिङ कृषि भवन निर्माण समितिकी अध्यक्ष फूलमाया राईले बताइन् ।

कार्यालय गाभिने क्रममा सरकारको नीतिगत अदूरदर्शिता, प्रशासनिक लापरवाही र योजना व्यवस्थापनको कमजोरी रहेको स्थानीयको गुनासो रहेको छ । पूर्वाधार विकास कार्यालय धनकुटाका निमित्त प्रमुख खरेलले अधुरा भवन निर्माण सम्पन्न गर्न मन्त्रालयसँग थप बजेट तथा कार्यक्रम माग गरिएको जानकारी दिए । बजेट विनियोजन भएपछि मात्रै काम अघि बढ्ने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!