
विराटनगर । विराटनगरका पत्रकार अर्जुन आचार्यमाथि भएको आक्रमणप्रति नेपाल पत्रकार महासंघ मोरङ शाखाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार संकलनका क्रममा भएको भौतिक आक्रमणप्रति महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको घोर निन्दा एवं भर्त्सना गरेको छ ।
हाम्रोमतका कार्यकारी सम्पादक तथा रातोपाटी अनलाइनमा कार्यरत आचार्यमाथि झापाको कमल गाउँपालिकामा चुनावी रिपोर्टिङका क्रममा फोटो र भिडियो खिचिरहेका बेला आक्रमण भएको हो ।
उक्त आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ । महासंघ मोरङ शाखाका सचिव नेत्र पी अधिकारीद्वारा जारी विज्ञप्तिमा राजनीतिक दलका कार्यकर्ताबाट गरिएको यस्तो गैरराजनीतिक व्यवहारले लोकतन्त्रको उपहास र प्रेस स्वतन्त्रताको हनन भएको ठहर गरिएको छ ।
प्रेस विरोधी यस्ता हर्कतले प्रेस स्वतन्त्रतामाथि नै गम्भीर धक्का पुर्याउने उल्लेख गर्दै महासंघले घटनामा संलग्नलाई तत्काल पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग जोडदार माग गरेको छ ।
आगामी दिनमा पत्रकारमाथि यस्ता हिंसात्मक व्यवहार नदोहोरिने सुनिश्चितता गर्न र प्रेस स्वतन्त्रताको सम्मान गरी निर्बाध रूपमा काम गर्ने वातावरण मिलाउन महासंघले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।
यस्तै प्रेस सेन्टर नेपाल मोरङ शाखाले पनि घटनाको घोर निन्दा तथा भर्त्सना गरेको छ । प्रेस सेन्टर मोरङका सचिव अनिल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा आचार्यमाथि भएको साङ्घातिक हमला प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ ।


संगालोखबर 















