
भोजपुर । नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य निर्वाचन भोजपुरका उम्मेदवार शेरधन राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । जिल्लाको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जोड दिँदै राईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
राईले सडक सञ्जाललाई पहिलो प्राथमिकता दिएका छन् । मध्यपहाडी लोकमार्गको चखेवा-दिक्तेल खण्डलाई अविलम्ब कालोपत्रे गर्ने, कोशी राजमार्गको वैकल्पिक मार्गका रूपमा चतरा-चुहार-घोडेटार-भोजपुर सडक निर्माण गर्ने उनको प्रतिबद्धता पत्रमा उल्लेख छ ।
यस्तै जिल्लाका प्रमुख ग्रामीण सडकलाई कालोपत्रे गर्ने योजना अघि सारेका छन् । अरुण र दूधकोशी नदीमा निर्माणाधीन पुलहरू समयमै सम्पन्न गर्ने र थप नयाँ पक्की पुलहरूको निर्माणका लागि पहल गर्ने प्रतिबद्धता उनको छ ।
टक्सार बजारको पुरानो ऐतिहासिकता झल्कने गरी सम्पदायुक्त सुन्दर बजारको रुपमा विकास गर्ने कार्यक्रम अघि सारेका छन् । मध्यपहाडी राजमार्गसँग जोडिएका मुख्य बजार केन्द्रहरू र सबै पालिका केन्द्रमा रहेका मुख्य बजारहरूको ढल निकास तथा व्यवस्थापनसहित व्यवस्थित बजारको रूपमा विकास गर्ने योजना उनको छ ।
यस्तै छरपष्ट र जोखिमयुक्त बस्तीहरूको व्यवस्थापन गर्दै एकीकृत बस्ती निर्माण तथा व्यवस्थापनका लागि आवश्यक पहल गर्ने राईले उल्लेख गरेका छन् । किसानमुखी कृषि नीति निर्माणमा जोड दिँदै सिँचाइ सुविधा, मल बीउबिजनको उपलव्धता, प्रविधि र प्राविधिक सहयोगमा कृषि उत्पादनबाटै घर घरमा आम्दानी र घर घरमा आत्मनिर्भर र रोजगारी सृजना गर्दै जिल्लालाई समृद्ध बनाउने राईको वाचा छ ।
बाँदर आतंक नियन्त्रण, गाँजाको व्यावसायिक खेतीका लागि विद्यमान कानुन संशोधनमा पहल गर्ने, मुन्दुम पदमार्गलाई थप विस्तार गर्दै संसारकै आकर्षक पर्यटकीय पदमार्ग बनाउन पहल गर्ने उनको लक्ष्य छ ।
भोजपुरले जन्माएका कला, साहित्य, भाषा र संस्कृतिका अग्रज र नवस्रष्टाहरूको कदर र सम्मान गर्दै ‘भाषा कला र संस्कृतिको शान, नवस्रष्टाको कदर, पुर्खा र इतिहासको सम्मान’ नाराका साथ स्थानीय भाषा साहित्य तथा कला र संस्कृतिहरूको संरक्षण गर्न उनको वाचा छ ।
युवा लक्षित सामूहिक उद्यमशीलता कार्यक्रम र युवा आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्न पहल गर्ने लगायतका युवा लक्षित कार्यक्रम प्रतिबद्धता पत्रमा समेटिएको छ ।
यस्तै जिल्ला अस्पताललाई गुणस्तरीय उपचार सेवाका लागि थप सुविधा र आधुनिक उपकरणको जडान गरी सेवालाई प्रभावकारी बनाउने, पालिका तहमा बनेका अस्पताल तथा स्वास्थ्य केन्द्रमा तत्काल आधुनिक उपकरण र दक्ष जनशक्तिसहितको सेवा सञ्चालन गर्न पहल गर्ने विषय समेटिएका छन् ।

संगालोखबर 















