
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवं स्टार फर्वाड सावित्रा भण्डारी ‘साम्बा’ को उपचार निःशुल्क गर्ने काठमाडौं मेडिकल कलेजले घोषणा गरेको छ । मेडिकल कलेजले विज्ञप्ति जारी गर्दै साम्बा नेपालमै उपचार गर्न तयार भए निःशुल्क उपचार गर्ने घोषणा गरेको हो ।
कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थाका कारण उनले सामाजिक सञ्जाल मार्फत सहयोगको अपिल गरेकी छन् ।
मेडिकल कलेजका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा यस विषयमा केएमसीको गम्भीर ध्यानाकर्षण भएको भन्दै साम्बा नेपालमै उपचार गर्न तयार भए निःशुल्क उपचार गर्ने उल्लेख गरिएको छ ।
साम्बाले सोमबार अपरान्ह आफ्नो आधिकारिक फेसबुक पेज मार्फत पछिल्लोपटक एन्फा नेतृत्वको पहलमा आफ्नो सम्पूर्ण व्यवस्थापन र सहयोग पुर्याएपनि यसपटक एन्फाले उपचारमा सहयोगको प्रयास मात्रै गर्न सक्ने बताएको उल्लेख गरेकी छन् ।
एन्फा अध्यक्षले ५ लाखसम्म सहयोग गर्ने र अन्य प्रक्रिया आफैं अगाडि बढाउन भनेपछि साम्बाले सामाजिक सञ्जाल मार्फत आफ्नो उपचारका लागि ८० हजार हाराहारी अमेरिकी डलर खर्च हुने भन्दै सहयोगको अपिल गरेकी छन् ।
आर्थिक अभावकै कारण राष्ट्रका गहनाले अत्यावश्यक स्वास्थ्य उपचार नपाउनु दुःखद भएको टिप्पणी गर्दै केएमसीमा साम्बाको घुँडाको जटिल शल्यक्रिया र ग्राफ्ट तथा एमसिएलको उपचार सम्भव रहेको उल्लेख गरिएको छ ।
काठमाडौं मेडिकल कलेज नेपाली काँग्रेसका युवा नेता तथा मोरङ–३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. सुनिल शर्माको प्रमुख स्वामित्वमा रहेको संस्था हो । डाक्टर शर्माले सुदुरपूर्वदेखि सुदूरपश्चिमसम्म निशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएका छन् ।
डा. शर्माले नेपाली क्रिकेट टोलीलाई हालै २० लाख र यसअघि पनि २० लाख गरि जम्मा ४० लाख रुपैयाँ हस्तान्तरण गरिसकेका छन् ।

संगालोखबर 















