
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा–५ का उम्मेदवार बालेन शाहले चुनावी बाचा पत्र सार्वजनिक गरेका छन् ।
संसद्मा प्रभावकारी कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको क्षेत्रमा आमूल परिवर्तन गर्ने एजेन्डाहरूलाई मुख्य प्राथमिकता दिँदै उनले बाचा पत्र सार्वजनिक गरेका हुन् । बाचा पत्रमा नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका मौलिक हकहरूको व्यावहारिक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ ।
नागरिकका आधारभूत आवश्यकताहरू गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई घरदैलोसम्म पुर्याउन आवश्यक कानुन निर्माण र बजेट व्यवस्थापनलाई उच्च प्राथमिकता दिने शाहले उल्लेख गरेका छन् ।
उनले भ्रष्टाचार र बेथिति विरुद्ध संसद्को अग्रपङ्क्तिमा उभिएर खबरदारी गर्ने विश्वास व्यक्त गरेका छन् । नेपालको संविधानको परिपालना गर्दै नागरिक मैत्री कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि सङ्घीय संसद्मा सक्रिय भूमिका निर्वाह गर्ने बाचा पत्रमा उल्लेख छ ।
उनले राष्ट्रहित विपरीत कुनै पनि सम्झौता नगर्ने र सार्वजनिक सेवालाई चुस्त दुरुस्त बनाउन प्रभावकारी भूमिका खेल्ने बाचा गरेका छन् । शिक्षा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने उद्देश्यका साथ काठमाडौँ महानगरपालिकामा सफल सावित भएको ‘शिक्षामा सीप’ कार्यक्रमलाई झापामा पनि लागू गर्ने उनले घोषणा गरेका छन् ।
यस्तै सामुदायिक विद्यालयमा स्मार्ट कक्षा, प्रयोगशाला र पुस्तकालयको स्थापना गर्ने र स्कुल रिटेन्सन प्रोग्राम मार्फत विद्यालय छाड्ने दरलाई शून्यमा झार्ने लगायतका योजना उनले बाचा पत्रमा समावेश गरेका छन् ।

संगालोखबर 















