
धनकुटा । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटामा १ हजार बढी कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनका लागि १ हजार ८ जना कर्मचारी खटाउने भएको हो ।
धनकुटामा १ सय ६६ मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्रमा छन् । अस्थायी मतदान केन्द्रका १ जनाका दरले र अन्य मतदान केन्द्रमा ६ जनाका दरले कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।
मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत, ३ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी रहनेछन् । यस्तै अस्थायी मतदान केन्द्रमा १ जना मतदान अधिकृत, १ जना सहायक मतदान अधिकृत र सहयोगी कर्मचारी १ जना परिचालन गरिने उनले जानकारी दिए ।
मतदान केन्द्रमा खटिएका कर्मचारीले ५ सय भन्दा कम मतदाता रहेको केन्द्रमा २ जना र ५ सय भन्दा बढी मतदाता रहेको केन्द्रमा ३ जना स्वयंमसेवक नियुक्त गर्नेछन् । अस्थायी मतदान केन्द्रमा भने स्वयंमसेवक नियुक्त नहुने जनाइएको छ ।
निर्वाचनमा खटिने कर्मचारीका लागि फागुन १३ देखि १५ गतेको बिचमा आवश्यक तालिम दिने तयारी रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस पटकको निर्वाचनमा महिला कर्मचारी परिचालन गरिएको साथै कर्मचारीको टुङ्गो भइसकेको र अब व्यवस्थापन समितिले टुङ्ग्याउन बाँकी रहेको कार्यालयले जनाएको छ ।
निर्वाचनमा खटिएका कर्मचारीलाई भौगोलिक र दूरीका हिसाबले सेवा सुविधा प्रदान गरिनेछ । धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले निर्वाचनमा खटाइने कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको जानकारी दिए ।

सन्तोष सुवेदी/संगालोखबर 














