संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगरमा दर्ता भएका सहकारी संस्थालाई कानुनी मापदण्डअनुसार सञ्चालन गर्न कडाइ गरिएको बताएका छन् । विगतमा अव्यवस्थित तथा नियमविपरीत सञ्चालनमा रहेका सहकारीलाई नियमन गरी कानुनको दायरामा ल्याइएको उनको दाबी छ ।

महानगरको सहकारी शाखाले आयोजना गरेको ‘सहकारी सञ्चालन तथा व्यवस्थापन’ तालिम उद्‌घाटन गर्दै मेयर कोइरालाले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र सदस्य केन्द्रित बनाउन महानगर प्रतिबद्ध रहेको बताए । ‘सहकारी संस्थाहरू सहकारीको मूल मर्म र भावनाअनुसार चल्नुपर्छ भन्ने हाम्रो स्पष्ट नीति हो’, उनले भने ।

सहकारी संस्था निम्न तथा मध्यम वर्गीय परिवारको बचत परिचालन र आयआर्जन वृद्धिमा प्रभावकारी माध्यम बन्न सक्ने उनको भनाइ छ । त्यसका लागि संस्थागत सुशासन, वित्तीय अनुशासन र व्यावसायिक व्यवस्थापन अपरिहार्य रहेको उनले बताए ।

महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले सहकारी संस्थाको क्षमता अभिवृद्धिका लागि नियमित तालिम कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए । सहकारी सञ्चालक मात्र होइन, व्यवस्थापकहरूलाई समेत लक्षित गरी फरक-फरक विषयमा प्रशिक्षण दिइँदै आएको उनको भनाइ छ ।

आर्थिक विकास महाशाखा प्रमुख प्रतीक गड्तौलाले सहकारीको आधार समुदायमा रहेको उल्लेख गर्दै स्थानीयस्तरमा छरिएर रहेको पुँजी, सीप र ज्ञानलाई एकीकृत गर्दै उत्पादनशील क्षेत्रमा परिचालन गर्नु नै सहकारीको उद्देश्य भएको धारणा राखे । कार्यक्रममा महानगरमा दर्ता भएका विभिन्न सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारी गरी ४० जनाको सहभागिता रहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!