
धनकुटा । महाशिवरात्रिको अवसरमा धनकुटाको मूलघाटस्थित विश्रान्ति मन्दिरमा भक्तजनको घुँइचो लागेको छ । आज भगवान शिवको पूजा-आराधना गर्न बिहानैदेखि भक्तजनको घुँइचो लागेको हो ।
विश्रान्ति मन्दिरमा छिमेकी जिल्लाहरूबाट पनि पूजा-आरधानका लागि भक्तजनहरू आएका छन् । भक्तजनहरूको घुँइचो लागेपनि उनीहरूलाई सहजै पूजा-आरधनाका गर्ने वातावरण रहेको मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरेले बताए ।

जिल्लाका बिभिन्न पालिकामा रहेका शिव मन्दिरहरूमा पनि शिवरात्रिका अवसरमा भक्तजनहरूको भीडभाड छ । हिन्दु धर्मावलम्बीहरूले भगवान् शिवको पूजा-आराधना गरी धुमधामपूर्वक महाशिवरात्रि पर्व मनाउँने गर्छन् ।
सम्पूर्ण प्राणीहरूको हृदयमा धर्म उदय गराउने भगवान शिवको प्यारो दिनका रूपमा महाशिवरात्रिलाई लिने गरिन्छ । शिवरात्रिमा उपवास बसी रातभर जाग्राम बसेर गाईको दूध, धतुरो र बेलपत्र चढाएमा सर्वसिद्धी लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

भगवान शिवलाई जाडो नहोस् भनेर शिवरात्रिमा प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा बालेर धुनी जगाउने चलन छ । यसैबीच धनकुटाको विश्रान्ति मन्दिरमा पनि धुनि जगाउने तथा जाग्राम बस्ने जनाइएको छ ।




सन्तोष सुवेदी/संगालोखबर 














