
झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लक्षित मतदातासँग भेटघाट गरिरहेका छन् । सोही क्रममा उनी आज मतदाता तथा कार्यकर्तासँग संवाद गर्न आफ्नो निर्वाचन क्षेत्र (झापा–५) मा पर्ने गौरीगञ्ज गाउँपालिका पुगेका छन् ।
चुनाव परिचालन समिति गौरीगञ्जका संयोजक सर्वतलाल राजवंशीका अनुसार अध्यक्ष ओलीले गौरीगञ्ज क्याम्पसमा सर्वसाधारण तथा कार्यकर्ताहरूसँग संवाद गरेका छन् । आज अध्यक्ष ओली गौरीगञ्जका विभिन्न टोल पुग्ने कार्यक्रम छ ।

निर्वाचन परिचालन समिति गौरीगञ्जका सचिव कृष्ण महतोका अनुसार सर्वसाधारण तथा कार्यकर्ताहरूसँगको संवादपछि ओली मतदातासँगको भेटका लागि विभिन्न बस्तीमा पुग्नेछन् ।
ओलीले खजुरगाछी, देवीगन्ज, जनताचोक, मल्हाटोली, दिनाभद्री, चिल्हरा, श्याम टोली, छहारी चोक, हरिरा, गौरीगडाँगी लगायतका बस्तीमा पुगेर मतदातासँग भलाकुसारी गर्ने कार्यक्रम रहेको उनले बताए ।
त्यसक्रममा ओलीले हुलाकी राजमार्ग तथा नयाँ शहरको रूपमा विकास हुँदै गरेको गौरीगञ्ज बजारको अवलोकन गर्नेछन् । ओली शुक्रबार देखि आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् ।

संगालोखबर 














