
झापा । झापामा सवारी दुर्घटना भयावह बन्दै गएको छ । २५ दिनको अवधिमा झापामा १८ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार माघ १ देखि २५ गतेको अवधिमा भएका दुर्घटनामा उनीहरूले ज्यान गुमाएका हुन् ।
आइतबार अर्जुनधारा नगरपालिका-७ स्थित बिरिङ खोलामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १-०१-००१ त ९०१० नम्बरको ट्याक्टरको पछाडि सवार सहचालक अर्जुनधारा-३ का १६ वर्षीय सरोज श्रेष्ठको मृत्यु भएको हो । ट्याक्टरबाट खसेका उनलाई पछाडिको चक्काले किचेको थियो ।
यस्तै तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका अर्जुनधारा-३ का ४५ वर्षीय राजन बाँस्कोटाको उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।
माघ २१ गते बिहान अर्जुनधारा-३ गरुवा चोकस्थित बिर्तामोड-खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र १-०१-०१८ प १६७ नम्बरको स्कुटीले बाटो काट्दै गरेका पैदलयात्री बाँस्कोटालाई ठक्कर दिएको थियो ।
यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको थियो । माघ १ गते एकैदिन तीन जनाको ज्यान गएको थियो ।

संगालोखबर 














