
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) धनकुटाले प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी प्रतिवद्धता सार्वजानिक गरेको छ । माओवादीले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।
गाँजा खेतीको वैधानिकतादेखि मिटरब्याज समस्या समाधान तथा किसानमुखी उत्पादन, सहिद परिवारलाई सम्मान, स्वाधीनता, आत्मनिर्भरता र समानता लगायतका पक्ष प्रतिवद्धता पत्रमा समावेश छन् ।
माओवादीले किसानमुखी उत्पादन प्रणाली, आत्मनिर्भर स्थानीय अर्थतन्त्रको विकास, युवा रोजगार र उत्पादन अभियान, शिक्षा र स्वास्थ्यमा निजीकरणको अन्त्य, भ्रष्ट दलाल पूँजीवादी विकास मोडेलको अन्त्य तथा यातायात र सडक सञ्जालको पहुँच विस्तारको योजना अघि सारेको छ ।
राष्ट्रिय स्वाधीनता र स्थानीय स्वाभिमानको पक्ष, वैज्ञानिक कृषि प्रणाली, उत्पादन आत्मनिर्भरता र किसान मुक्तिको आधार तथा माटो, पानी र जलवायुमा आधारित कृषि योजना, बीउ आत्मनिर्भर र जात सुधारका लागि काम गर्ने माओवादीले जनाएको छ ।
यस्तै किसानका लागि वैज्ञानिक सिँचाइ र पानी व्यवस्थापन, जैविक मल र सन्तुलित पोषण व्यवस्थापन, रोग कीरा र झारको वैज्ञानिक नियन्त्रण, कृषि यान्त्रिकीकरण र प्रविधि प्रयोग, सहकारी सामूहिक उत्पादन प्रणाली, अपेक्षित उपलब्धि, सहिद बेपत्ता घाइते तथा अपाङ्ग परिवारको अन्यायलाई अन्त्य गर्ने माओवादीका उम्मेदवार रविन कुमार राईले बताए ।
यस्तै एमसीसीको विरोध, सप्तकोशी उच्च बाँध निर्माण परियोजना खारेजको लागि संघर्ष, बैंक, सहकारी, मिटरब्याज तथा लघुवित्त समस्या समाधानको लागि पहल तथा संघर्ष, गाँजा खेतीलाई वैधानिक बनाइ पकेटजोन निर्माणको लागि संघर्ष गर्ने प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 














