संगालोखबर


विराटनगर । खोटाङको जन्तेढुंगा गाउँपालिका-६ निगालबाँसमा बिहे भोज खाएपछि एकै गाउँका सय भन्दा बढी मानिस बिरामी परेका छन् । स्थानीय वर्णबहादुर राईका छोरा किशोरको विवाहको भोज खाएका गाउँले र पाहुनाहरू बिरामी परेका हुन् ।

उनीहरूले माघ २१ गते भोज खाएका थिए । भोजमा मासुभात, दाल, तरकारी र अचार खाएका सय बढीमा स्वास्थ्य समस्या देखिएको हो ।

उनीहरूलाई पेट दुख्ने, वान्ता हुने, ज्वरो आउने लगायतका समस्या देखिएको खोटाङ प्रहरीका सूचना अधिकारी राजु विष्टले जानकारी दिए । उनीहरूमध्ये ८ जनालाई प्राथमिक स्वास्थ्य केन्द्रमा चेकजाँच गर्दा ‘फुड पोइजन’ भएको खुलेको इन्स्पेक्टर विष्टले बताए ।

अन्य बिरामीलाई स्थानीय सुजना राईको घरमा राखेर सामूहिक उपचार भइरहेको प्रहरीले जनाएको छ ।  गाउँपालिकाका उपाध्यक्ष खेमबहादुर खड्काका अनुसार बिरामीको चाप बढेपछि जिल्ला स्वास्थ्य कार्यालयबाट थप औषधिसहितको जनशक्ति मगाइएको छ ।

अहिले चिसापानी प्राथमिक स्वास्थ्य केन्द्रका ७ जना स्वास्थ्यकर्मीसहित गाउँपालिकाको आरआरटी टोली उपचारमा खटिएको छ । भोज खाएर घर फर्किएकाहरूलाई पनि स्वास्थ्यमा समस्या देखिन थालेको बताइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!