सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा माघ २७ देखि २९ गतेसम्म एक हजार दुई सय ८६ जना बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालय धनकुटा तथा जिल्ला खोप समन्वय समितिले आज सञ्चारकर्मी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया गर्दै एचपिभी खोप लगाइने बारे जानकारी गराएको हो ।

जिल्लाका सात वटै पालिकामा कक्षा ६ मा अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षमुनिका बालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बन्जाडेले जानकारी दिइन् ।

यस्तै गतवर्ष खोप लगाउन छुटेका ७ देखि १० कक्षमा अध्ययनरत ११ देखि १४ वर्ष उमेर समूहका बालिकाहरूलाई पनि खोप लगाइने उनको भनाइ छ ।

जिल्लाका एक सय ४१ वटा विद्यालय र ७३ वटा स्वास्थ्य केन्द्र गरी जम्मा दुई सय १५ स्थानबाट खोप लगाइने छ । खोप कार्यक्रमका लागि दुई १४ जना स्वास्थ्यकर्मी परिचालन गरिने प्रमुख बन्जाडेले बताइन् ।

चौबिसे गाउँपालिकाका १६ वटा विद्यालय र २ वटा स्थलगत गरि २०८ जना, छथर जोरपाटी गाउँपालिकाका १३ विद्यालय र ४ स्थलगत गरि १४१ जना र साँगुरीगढी गाउँपालिकाका १४ विद्यालय र ४ स्थलगत गरी १३३ जनालाई खोप लगाइने छ ।

यस्तै सहिदभूमि गाउँपालिकाका १५ वटा विद्यालय र ४ स्थलगत गरी १५३ जना, धनकुटा नगरपालिकाका १५ विद्यालय र १६ स्थलगत गरी ३३३ जना, पाख्रीबास नगरपालिकाका १५ विद्यालय र ४ स्थलगत गरी १३७ जना र महालक्ष्मी नगरपालिकाका २३ विद्यालयका १७१ जना बालिकाहरूलाई खोप लगाइने स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!