
विराटनगर । झापाको भद्रपुर नगरपालिका-१० धनुषमोडमा एक जनाको हत्या भएको छ । बिहीबार साँझ घाँटीमा सुई घोचेर सोही स्थानका ६६ वर्षीय खेमराज ढकालको हत्या भएको हो ।
प्रहरीका अनुसार सिरहाको विष्णुपुर गाउँपालिका-१ का २६ वर्षीय दिपेशकुमार सिंहले ढकालको हत्या गरेका हुन् । उनले ढकाललाई घाँटीमा सुई घोचेर गम्भीर घाइते बनाएका थिए ।
ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचारका क्रममा ढकालको मृत्यु भएको झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
‘घाँटीमा जबरजस्ती सुई घोचेपछि स्थानीयले हल्लाखल्ला गरेपछि सिंहलाई तत्कालै पक्राउ गरिएको छ’, डीएसपी खड्काले संगालोखबरसँग भने, ‘उनीहरूबीच सामान्य चिनजान रहेको खुलेको छ ।’
उनका अनुसार सिंह धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत थिए । खेमराजकी छोरी पनि सोही स्थानमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत रहेको उनले बताए ।
उनीहरूबीच केही रिसिइबी रहेका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘हत्याको कारण खुल्न बाँकी छ’, उनले भने, ‘अनुसन्धान अघि बढाएका छौँ । थप कुरा अनुसन्धानपछि खुल्नेछ ।’

संगालोखबर 














