सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य उम्मेदवार धर्मराज पौडेलले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उनको चुनावी प्रतिवद्धता पत्रमा गाँजा खेतीको विकल्पदेखि उद्योग सञ्चालनसम्मका योजना समावेश छन् । सामुदायिक विद्यालयको गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासमा जोड, सार्वजनिक, सहकारी र निजी अस्पतालहरूको स्तरोन्नतिका लागि पहल गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

यस्तै एक पालिका एक खेल मैदान र कभर्ड हल, औद्योगिक ग्राम स्थापना र सञ्चालनमा सहयोग, सडक सञ्जाललाई बाह्रै महिना सञ्चालनका लागि स्तरोन्नति, पहिरो, भूक्षय तथा अन्य प्राकृतिक प्रकोपका कारण जोखिममा रहेका बस्तीहरूको सुरक्षित व्यवस्थापनलाई उनले प्राथमिकता दिएका छन् ।

माटो परीक्षण देखि उन्नत खेती प्रविधि प्रयोगशाला, शीतभण्डार, कुल चेनयुक्त ढुवानी साधनहरूको उपयोग गर्न सहजीकरण, कृषि तथा फलफूल उत्पादन क्षेत्रमा कृषिजन्य उत्पादनको व्यवसायिकरण गर्न भिन्नाभिन्नै स्रोतकेन्द्र, प्रशोधन केन्द्रहरू र वितरण केन्द्रहरू स्थापना गर्न सहजीकरण गर्ने उनको चुनावी प्रतिवद्धता पत्रमा उल्लेख छ ।

यस्तै कृषकहरूको मागको आधारमा आवश्यक सिँचाइ योजनाहरू सञ्चालन, व्यवसायिक तथा उद्यमी कृषकहरूलाई सहुलियतपूर्ण ऋण तथा अनुदानको व्यवस्था गर्ने, उद्योग स्थापना र पर्यटन प्रवर्द्धन, गैरकानूनी गाँजा खेतीको विकल्प साथै दिगो र बढि आय दिने किसिमका अन्य कृषिजन्य उत्पादनतर्फ जोड दिने उनले प्रतिवद्धता जनाएका छन् ।

यस्तै सहिद परिवार, बेपत्ता र घाइतेहरूको उचित योजना र कार्यक्रम बनाई कार्यान्वयनमा गर्ने, वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई स्वदेशमै स्वरोजगारीको व्यवस्थापन गर्ने, स्वच्छ खानेपानी योजना निर्माण र कार्यान्वयन गर्न पहल गर्ने उल्लेख गरेका छन् ।

धनकुटाको ऐतिहासिक टुँडिखेलको स्तरोन्नति गरी मिनी स्टेडियम बनाउने, धार्मिक, सांस्कृतिक, प्राकृतिक स्थलहरूलाई पर्यटन प्रवर्द्धन योजना निर्माण गर्ने पर्यावरणीय पर्यटन, कृषि पर्यटन, साहसिक खेल पर्यटन, सांस्कृतिक पर्यटन, होमस्टे आदि प्रवर्द्धनको विकास र विस्तारमा पहल गर्ने उनले उल्लेख गरेका छन् ।

महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सीमान्तकृत र अल्पसंख्यक समुदाय र पिछडिएका वर्गको समान सहभागिता गरी दक्ष जनशक्तिमा रूपान्तरण र संघीय तथा प्रदेश सरकारबाट विनियोजन हुने योजना, कार्यक्रम तथा बजेट आवश्यकताका आधारमा धनकुटा जिल्ला भित्रका लागि स्वीकृत र कार्यान्वयन गर्ने क्रममा अधिकतम योजनाहरूमा विनियोजन गर्ने लगायत उनको चुनावी प्रतिवद्धता पत्रमा उल्लेख छ ।

यस्तै संघीय, प्रदेश र स्थानीय सरकारसँगको समन्वय र सहकार्यबाट जिल्लालाई प्राप्त कार्यक्रम जनमुखी बनाउन प्रयत्न गर्ने तथा सरकारी तथा गैरसरकारी संघ सस्थाहरूसँग आवश्यक समन्वय गरी समग्र जिल्लाको विकासका लागि काम गर्ने उमेदवार पौडेलले प्रतिवद्धता व्यक्त गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!