
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता तथा प्रतिनिधि सभा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले मतदातासँग भेटघाट गरिरहेका छन् । विभिन्न जिल्लाको भ्रमण सकेर हिजो साँझ आफ्नो निर्वाचन क्षेत्र आइपुगेका बालेन मतदातासँग भेटघाटमा व्यस्त छन् ।
उनी आज बिहान कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा पुगेका थिए । सोही क्रममा उनले मतदाताको जिज्ञासा सुन्दै आफ्नो धारण व्यक्त गरेका छन् ।
काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाएको विषयमा मतदाताले प्रश्न गरेपछि उनले खोला किनारमा बस्ने सुकुम्बासी वर्षायाममा बाढीको उच्च जोखिममा रहने भएकाले उनीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न खोजेको उल्लेख गरे ।
उनले सुकुम्बासीलाई विस्थापित गर्न नभइ खोला किनारको सार्वजनिक जग्गाको संरक्षण र मानिसको ज्यान जोगाउनु आफ्नो उद्देश्य रहेको बताए ।
‘काठमडौंंको चाहिँ खोला छेउको सार्वजनिक जग्गा हो । खोला छेउमा बसेको उहाँहरूका लागि हो । बाढी आउँदा उहाँहरू बसेको बस्तीभन्दा माथिसम्म आउँछ’, उनले भने, ‘हरेक चोटी बर्खा लाग्दा असारमा उहाँहरूलाई उठाएर अर्को ठाउँ लग्नुपर्छ । काठमाडौँमा गर्न खोजेको चाहिँ उहाँहरू जोखिममा बस्नु भएकोलाई सेफ ठाउँमा राख्नुपर्यो भनेको । तर, त्यसको गलत न्यारेटिभले डोजर चलाए जस्तो देखिएको हो । खासमा मान्छेको ज्यान जोगाउनलाई हो ।’
चार दशकदेखि बसोबास गर्दै आएका स्थानीयले अहिलेसम्म २३ वटा भूमि आयोग बने पनि लालपुर्जा नपाएको गुनासो गरेका थिए । शाहले पहुँचका आधारमा लालपुर्जा वितरण गर्ने परिपाटी सुधार्नुपर्ने र वास्तविक सुकुम्बासीले अधिकार पाउनुपर्ने बताए ।
स्थानीयले शिक्षा र स्वास्थ्यका विषयमा पनि जिज्ञासा राखेका थिए । त्यसको जवाफ दिँदै उनले भने, ‘शिक्षा निःशुल्क गर्ने भनेर संविधानमा त लेखियो तर बजेट छैन । खल्तीमा पैसा नहुनेले पनि शिक्षा र स्वास्थ्य पाउनुपर्यो । खल्तीमा पैसा हुनेले व्यापार गर्न पाउनुपर्यो ।’

संगालोखबर 













