
विराटनगर । झापामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् । गौरादह नगरपालिका-४ स्थित रामचन्द्रे खोलाको पुलबाट सोमबार साँझ ७ः२० बजेतिर ट्याक्टर खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङको रतुवामाई नगरपालिका-८ की ३८ वर्षीया स्वस्तिका मर्डीको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी उनलाई उपचारका लागि दमकस्थित निम्स अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । झापाका प्रहरी प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गौरादहबाट स्कुलचनतर्फ जाँदै गरेको प्र १-०१-००१ त ९७२० नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटना भएको खुलेको छ ।
दुर्घटनामा रतुवामाई-८ की ५० वर्षीया मुनिमति सतार, २३ वर्षीया विनिता मर्डी, २६ वर्षीया मीना मर्डी र १२ वर्षीया सम्झना मर्डी घाइते भएका छन् ।
यस्तै रतुवामाई-५ की १५ वर्षीया सन्तोषी किस्कु, ८ वर्षीया मेलिना मर्डी, ६० वर्षीय एतोबार मुर्मू, २० वर्षीया सरिता मर्डी र सरिताको छोरा ३ वर्षीय गंगाराम मर्डी घाइते भएका छन् ।
यसैगरी मोरङको सुनवर्षी नगरपालिका-२ की ३० वर्षीया शीला मर्डी र झापाको शिवसताक्षी नगरपालिका-९ बैगुनधुराका १७ वर्षीय विजय वास्की घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरूको दमकस्थित निम्स अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालक मोरङको रतुवामाई-५ का २५ वर्षीय चमलाल मुर्मूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संगालोखबर 













