
विराटनगर । कोशी प्रदेशसभा सञ्चालन प्रयोजनका लागि विराटनगर महानगरपालिका र कोशी प्रदेशसभा सचिवालयबीच करार सम्झौता भएको छ । विराटनगरस्थित वीरेन्द्र सभागृह प्रयोग गर्ने विषयमा आज महानगरपालिकामा आयोजित समारोहबीच दुवै पक्षले सम्झौता पत्रमामा हस्ताक्षर गरेका हुन् ।
महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा महानगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिवालयका तर्फबाट प्रदेशसभा सचिव सुदर्शन खड्काले हस्ताक्षर गरेका छन् ।
महानगर राजस्व महाशाखा प्रमुख सरोज गौतम र प्रदेशसभा उपसचिव अर्जुन घिमिरे सम्झौताको साक्षीका रूपमा रहेका छन् । सम्झौताअनुसार माघ १८ गतेदेखि २०८३ साउन १७ गतेसम्म ६ महिनाका लागि वीरेन्द्र सभागृह प्रदेशसभा सञ्चालनका लागि प्रयोग गरिनेछ ।
सो अवधिमा प्रदेशसभा सचिवालयले महानगरपालिकालाई मासिक ८ लाख रुपैयाँ भाडा बुझाउनुपर्नेछ । भाडा प्रत्येक महिना समाप्त भएको ७ दिनभित्र महानगरलाई भुक्तानी गर्नुपर्ने व्यवस्था सम्झौतामा उल्लेख छ ।
साथै प्रचलित कानुन अनुसार लाग्ने अन्य कर प्रदेशसभा सचिवालयले नै व्यहोर्ने सम्झौता भएको छ । सम्झौताको अवधि समाप्त हुनुभन्दा एक महिना अगावै दुबै पक्षको सहमतिमा करार अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रदेशसभा सचिवालयले सम्झौता अवधि सकिनुअघि नै करार अन्त्य गर्न चाहेमा एक महिना अगावै सूचना दिनुपर्नेछ । त्यस्तै महानगरपालिकाले सम्झौता अगावै अन्त्य गर्नुपर्ने अवस्था आएमा दुई महिना अगावै सूचना दिनुपर्ने प्रावधान रहेको प्रमुख प्रशासकीय अधिकृत दुलालले जानकारी दिए ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी हुँदा प्रदेशसभा भवन जलेर पूर्णरूपमा ध्वस्त भएको थियो । त्यसपछि प्रदेशसभा सञ्चालनमा समस्या उत्पन्न भएको थियो ।
वैकल्पिक रूपमा मोरङको कटहरीस्थित थोक तथा तरकारी बजारको भवनमा प्रदेशसभा सचिवालय सारिएपनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावका कारण वीरेन्द्र सभागृहमा बैठक गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ । जेनजी आन्दोलनपछि प्रदेशसभाको पहिलो बैठक माघ २५ गतेका लागि आह्वान गरिएको छ ।

संगालोखबर 













