
दमक । नेकपा एमालेले दमक नगरपालिकाका १० वटै वडामा वडा स्तरीय कार्यालय सञ्चालन गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन परिचालन कमिटी अन्तर्गत आजबाट सबै वडामा कार्यालय सञ्चालन गरिएको हो ।
कार्यालय सञ्चालनमा आएसँगै अब पार्टीका हरेक कार्यकर्ता मतदाताका घरघर जाने एमालेले जनाएको छ । यसअघि नै एमालेले भेला आयोजना गरेर मतदातालाई पार्टी अध्यक्ष एवं झापा ५ का उम्मेद्वार केपी शर्मा ओलीलाई मतदान गर्न आह्वान गरिएको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले जानकारी दिए ।
झापाको दमक नगरपालिका भित्र रहेका सबै वडामा निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि अघि बढाइने दाहालको भनाइ छ । पार्टीका वडा कमिटी संयोजक सहित प्रत्येक वडा अन्तर्गत भूगोलमा रहेका पार्टी केन्द्रिय कमिटीका पदाधिकारी, सदस्य, प्रदेश कमिटी पदाधिकारी लगायतलाई जिम्मेवारी तोकिएको छ ।
यस्तै सम्बन्धित वडामा रहने जनसङ्गठनका सबै पदाधिकारी तथा सदस्यहरू, अगुवा पार्टीका कार्यकर्ता र विज्ञ समेत रहेर कार्यालयमा दैनिक योजना तर्जुमा गरिने जनाइएको छ । यसअघि वडास्तरमा कम्तिमा १५१ सदस्यीय र बढीमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

संगालोखबर 













