
धनकुटा । धनकुटाका समाजसेवी, शिक्षासेवी तथा विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्व. गणेश कुमार कर्माचार्यको सालिक अनावरण गरिएको छ । शनिवार धनकुटा नगरपालिका-५ स्थित तल्लाकोप्चेमा एक कार्यक्रमको आयोजना गरी कर्माचार्यको सालिक अनावरण गरिएको हो ।
वि.सं. १९७० सालमा जन्मिएका कर्माचार्यको तामाबाट निर्मित अर्धकदको प्रतिमा अनावरण गरिएको छ । उनले शिक्षा, सामाजिक सुधार र पूर्वी पहाडी जिल्लामा व्यापार तथा विकासको आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।

कर्माचार्यले राणा शासनको समयमा पनि शिक्षाको विस्तारमा सक्रिय योगदान पुर्याएका थिए । उनले गोकुण्डेश्वर इङ्ग्लिस स्कुल स्थापना गरी धनकुटामा आधुनिक शिक्षाको सुरुवात गराएका थिए । उनले वि.सं. २०१२ सालमा धनकुटा बहुमुखी क्याम्पस स्थापना गर्न तथा संस्थापक सञ्चालकको भूमिका निर्वाह समेत गरेका थिए ।
वि.सं. २०१६ सालमा बालमन्दिर विद्यालय स्थापना गरी शैक्षिक विकासमा योगदान पुर्याएका थिए । सामाजिक व्यक्तित्व राजेन्द्र प्रधानका अनुसार कर्माचार्य शिक्षा क्षेत्रसँगै सामाजिक सुधार अभियानमा पनि उत्तिकै सक्रिय थिए ।

उनले वि.सं. २०१३ सालमा राजा महेन्द्रको धनकुटा भ्रमणका क्रममा राजा चढेको घोडाको लगाम समातेर धरान–धनकुटा मोटरबाटो निर्माण तथा बजार क्षेत्रमा खानेपानी व्यवस्थापनका लागि पहल कदमी गरेको प्रधानले बताए ।

कर्माचार्य धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुरलगायत पहाडी जिल्लामा व्यापारिक गतिविधि विस्तार गर्ने अग्रणी व्यक्तित्वका रूपमा परिचित छन् । राजनीतिक क्षेत्रमा समेत सक्रिय कर्माचार्य वि.सं. २०१५ सालको आमनिर्वाचनमा महासभा पार्टीबाट उम्मेदवार बनेका थिए ।

सन्तोष सुवेदी/संगालोखबर 













