
धनकुटा । धनकुटामा छनोट भएका निर्वाचन प्रहरीको तालिम दिन सुरु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि छनोट भएका निर्वाचन प्रहरीलाई आजबाट तालिम दिन सुरु गरिएको हो ।
धनकुटाको तल्लो टुँडिखेलमा धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले निर्वाचन सुरक्षा प्रहरी दुर्गाबहादुर निरौलालाई लौरो प्रदान गरेर तालिमको उद्घाटन गरेका हुन् ।
भौगोलिक रूपमा टाढा खटाइनु पर्ने भएकाले आजैबाट तालिम सुरु गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
सोही अवसरमा निर्वाचन सुरक्षा प्रहरीले गर्नुपर्ने काम, तालिम अवधि, सेवासुविधा लगायतका विषयमा जानकारी पनि गराइएको थियो । निर्वाचन प्रहरीलाई १० दिनको आधारभूतपछि पायक पर्ने स्थानमै तालिमको व्यवस्था मिलाइने जनाइएको छ ।

उनीहरूलाई माघ २५ गतेपछि कार्यक्षेत्रमा परिचालन गरिने एसपी क्षेत्रीले बताए । धनकुटामा १ लाख १८ हजार ४ सय २४ जना मतदाता छन् । जम्मा १ हजार ८५ जना निर्वाचन सुरक्षा प्रहरी छनोट भएकामा उनीहरूलाई नेपाल प्रहरीसँग समन्वय गरी परिचालन गरिने छ ।
अति संवेदनशील मतदान स्थलमा १०, संवेदनशीलमा ६ र सामान्य मतदान स्थलमा ५ जनाका दरले परिचालन गरिने प्रहरीले जनाएको छ । जिल्लामा कुल १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र छन् ।
तीमध्ये १६ मतदान स्थल अति संवेदनशील, ४९ संवेदनशील र बाँकी मतदान स्थल सामान्य वर्गमा परेका प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिए ।

सन्तोष सुवेदी/संगालोखबर 













