
धनकुटा । धनकुटामा विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाइएको छ । सहिद सरोकार समाज, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटा स्मृति प्रतिष्ठान, सहिद भिमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान, सहिद स्मृति अध्ययन केन्द्र र हुसाडेक नेपालको संयुक्त आयोजनामा सहिद दिवस मनाइएको हो ।
सो अवसरमा धनकुटा नगरपालिका-६ स्थित सहिद भिमनाराण श्रेष्ठको सालिकमा माल्यार्पण गरी सहिदहरूप्रति श्रद्धाञ्जली अपर्ण गरिएको थियो । यस्तै धनकुटा-७ स्थित बसपार्कमा रहेको सहिद स्मारक स्तम्भमा माल्यार्पण गर्दै कोण सभा गरिएको थियो ।
वि.सं. १९९४ साल असार २४ गते जन्मिएका सहिद भीमनारायण श्रेष्ठलाई वि.सं. २०३० साल चैत ३ गते विराटनगर बस काण्डको अभियोगमा पक्राउ गरी लामो समय जेलमा राखिएको थियो । कठोर यातनापछि उनलाई वि.सं. २०३५ साल माघ २६ गते मृत्युदण्ड दिएको थियो । श्रेष्ठलाई नेपाल सरकारले वि.सं. २०७२ साल फागुन १९ गते राष्ट्रिय सहिद घोषण गरेको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का, जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख शरत कुमार थापा क्षेत्री, सशस्त्र प्रहरी बल नेपाल नं.६ गुल्म हेडक्वाटर छिन्ताङका डीएसपी प्रेम प्रकाश सिग्देल, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, महिला नेतृ, मानव अधिकारकर्मी र सहिद परिवारलगायतको उपस्थिति थियो ।
सरकारले सहिद दिवसकै अवसरमा सार्वजनिक बिदा दिएको भएपनि स्तम्भमा माल्यार्पण गर्न सरकारी कर्मचारीको उपस्थित भने न्यून थियो । हुसाडेक नेपालले २०६० सालमा निर्माण गरेको सहिद स्मारकमा चार जना सहिदको स्तम्भ राखिएको छ ।
यस्तै छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जना सहिदको नाम पनि शिलालेखमा समावेश गरिएको छ । सो स्थानमा हरेक वर्ष सहिद दिवसका अवसरमा कार्यक्रम गर्ने गरिन्छ ।

सन्तोष सुवेदी/संगालोखबर 













