
धनकुटा । धनकुटामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मतदाताले १२ वर्षपछि प्रतिनिधि सभा निर्वाचनमा आफ्नै उम्मेदवारलाई मतदान गर्न पाउने भएका छन् ।
नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी (नेकपा एस) बीचको एकतापछि आगामी फागुन २१ गते हुने निर्वाचनमा नेकपाका मतदाताले आफ्नै उम्मेदवारलाई मतदान गर्न पाउने भएका हुन् ।
धनकुटामा नेकपाको सबैभन्दा ठूलो घटक नेकपा माओवादी केन्द्रले २०७४ सालमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमालेलाई र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई सघाएको थियो ।
२०४९ सालमा एमालेबाट तत्कालीन जिल्ला विकास समितिको सभापति बनेका र २०६४ सालमा भएको पहिलो संविधान सभा निर्वाचनमा माओवादीकै हरिराज खेवासँग पराजित बनेका धर्मराज पौडेललाई धनकुटामा नेकपाले उम्मेदवार बनाएको छ ।
एमालेबाट विद्रोह गरेर पौडेल माधव नेपालसँगै नेकपा एसमा लागेका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका दल मिलेर बनेको नेकपामा पौडेल केन्द्रीय सदस्य छन् ।
२०१७ साल असोज २४ गते धनकुटाको महालक्ष्मी नगरपालिका-२ मा जन्मिएका पौडेल २०४० देखि २०४३ सालसम्म गाउँकै विद्यालयको प्रधानाध्यापक र २०४५ देखि २०४९ सालसम्म धनकुटा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति समेत भएका थिए ।
यस्तै २०४९ सालमा तत्कालीन जिल्ला विकास समितिको सभापतिमा निर्वाचित भएका उनले २०५४ सालसम्म काम गरे । २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा नेपाली काँग्रेसका सुनिल बहादुर थापालाई सघाएर प्रदेश ‘क’ क्षेत्रमा नेकपा एसका अर्जुन राई र प्रदेश ‘ख’ क्षेत्रमा माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको थियो ।
यता माओवादी केन्द्रका हेमराज भण्डारीले विद्रोह गरेर स्वतन्त्र उम्मेदवार दिएका थिए । २०७९ मा गठबन्धनलाई हराउँदै प्रतिनिधि सभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी बनेका थिए ।
२०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक तर्फ धनकुटामा नेकपा एमालेले २९ हजार ४ सय ७, नेपाली काँग्रेसले १८ हजार १ सय ३५ र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले ४ हजार ८ सय ३८ मत प्राप्त गरेको थियो ।
यस्तै जनता समाजवादी पार्टी नेपालले ४ हजार १ सय ८२, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ९ सय ७९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले २ हजार ४ सय ४९ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७ सय ९१ मत प्राप्त गरेको थियो ।
जनताको माग अनुसार नीति निर्माणका लागि आवाज उठाउन चुनावी मैदानमा उत्रिएको उम्मेदवार पौडेलले बताए ।

सन्तोष सुवेदी/संगालोखबर 













