सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटा कारागारका कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ । आइतबार कारागारमा रहेका १ सय ८५ जना कैदीबन्दीहरूको क्षयरोग (टीबी) र एचआईभी परीक्षण गरिएको हो ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको स्वास्थ्य शिविरमा अत्याधुनिक एआई प्रविधियुक्त मेसिनबाट छातीको एक्स–रे गरी क्षयरोग परीक्षण गरिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ अधिकृत तुलसीप्रसाद गुरागाईंका अनुसार परीक्षणका क्रममा १० जना कैदीबन्दीमा क्षयरोगको सम्भावित लक्षण देखिएको जानकारी दिए ।

लक्षण देखिएका कैदीबन्दीको खकार संकलन गरी थप परीक्षणका लागि प्रयोगशालामा पठाइने उनले बताए । यस्तै उनीहरूको आवश्यक उपचार प्रक्रिया पनि तत्काल अघि बढाइने जनाइएको छ । क्षयरोग प्रमाणित भएका कैदीबन्दीको निःशुल्क उपचार हुने उनले जानकारी दिए ।

कारागार, वृद्धाश्रम, पुनःस्थापना केन्द्र जस्ता भीडभाडयुक्त र बन्द वातावरण भएका स्थानमा क्षयरोगको उच्च जोखिम हुने निर्देशनालयले जनाएको छ । विशेष गरी ६० वर्ष माथिका व्यक्तिमा क्षयरोगको जोखिम बढ्ने कार्यालयले जनाएको छ ।

निर्देशनालयका अनुसार लामो समयसम्म एकै ठाउँमा बस्नुपर्ने, पोषणको कमी, धूम्रपान, मदिरा सेवन तथा स्वास्थ्य सेवामा पहुँच सीमित हुने अवस्थाले क्षयरोग संक्रमणको सम्भावना बढ्छ ।

यसैगरी एचआइभी परीक्षण गरिएका सबै कैदीबन्दीहरूको रिपोर्ट नेगेटिभ आएको निर्देशनालयले जनाएको छ । सरकारले सन् २०३५ भित्र नेपालमा क्षयरोगीको संख्या प्रति १ लाखमा १० जना भन्दा कममा झार्ने लक्ष्य लिएको छ ।

हाल नेपालमा प्रति १ लाख जनसंख्यामा २ सय २७ जना क्षयरोगी छन् । क्षयरोग न्यूनिकरणको सरकारी लक्ष्य प्राप्तिका लागि जोखिम समूहको पहिचान, प्रारम्भिक परीक्षण, समयमै उपचार र जनचेतना अभिवृद्धिमा जोड दिइँदै आएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ अधिकृत गुरागाइँले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!