
पाँचथर । पाँचथरमा नेकपा एमाले जिल्ला कमिटीको नवौँ विस्तारित बैठकबाट ५ हजार ३ सय ९९ सय निर्वाचन परिचालन समिति घोषणा गरिएको छ । जिल्ला, पालिका, वडा, टोल तथा जनवर्गीय सङ्गठनका पदाधिकारीहरूलाई समेट्दै निर्वाचन परिचालन समिति घोषणा गरिएको हो । समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विशेष तयारी गर्नेछ ।
जिल्ला कमिटी अध्यक्ष विष्णु प्रसाद सापकोटाको अध्यक्षतामा भएको बैठकमा एमाले केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज साथै प्रतिनिधि सभा सदस्य उम्मेदवार अइन्द्रसुन्दर नेम्बाङ प्रमुख अतिथि थिए ।
कार्यक्रममा केन्द्रीय सदस्यद्वय आशारत्न जबेगु र भूमिका सुब्बा लिम्बु, केन्द्रीय सल्लाहकार परिषद् सदस्य श्रीप्रसाद जबेगु तथा केन्द्रीय निर्वाचन आयोग सदस्य कृष्णकुमार आङ्देम्बेले मन्तव्य राख्दै संविधान रक्षा र लोकतन्त्र संरक्षणको लागि एमाले निर्वाचनमा विजयी हुने र पाँचथरमा नेम्बाङको जित सुनिश्चित रहेको उल्लेख गरे ।
प्रमुख अतिथि नेम्बाङले आफ्नो जित सुनिश्चित रहेको भन्दै यस जित सिङ्गो एमाले र पाँचथरका जनताको हुने बताए । बैठकले निर्वाचन केन्द्रित पालिका कमिटीको बैठक माघ १४ गते र वडा कमिटीको बैठक माघ १८ गते सम्पन्न गर्ने निर्णय गरेको छ । साथै पार्टीका सम्पूर्ण कार्यकर्तालाई सक्रिय रूपमा निर्वाचन अभियानमा होमिन निर्देशन दिइएको छ ।

संगालोखबर 













