
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह धनकुटाबाट गाडीबाटै हात हल्लाउँदै फर्किएका छन् । चुनावी अभियानको क्रममा आज धनकुटा आएका शाह गाडीबाटै हात हल्लाउँदै फर्किएका हुन् ।
इलाम, ताप्लेजुङ, पाँचथर, तेह्रथुम हुँदै धनकुटा आइपुगेका उनले हिले बजारमा रास्वपा उम्मेदवार दिनेश भण्डारीसहित स्थानीय मतदातासँग छोटो भेटघाट गरेका थिए ।
तर धनकुटा बजारमा भने उनी गाडीबाट उत्रिएनन् । स्थानीय मतदाता र आफ्ना कार्यकर्तालाई गाडीबाटै हात हल्लाउँदै उनी धरान झरे । झापा–५ बाट उम्मेदवारी दिएका शाह चुनावी अभियानका क्रममा पूर्वी पहाडी जिल्लाको भ्रमणमा थिए ।
पाख्रीबासमा पनि कार्यक्रम तय भएपनि उनी त्यता गएनन् । धनकुटाको भिमनारायण चोकबाट मदन चोकसम्म पैदल यात्राको कार्यक्रम तय गरिएको भएपनि गाडीबाटै समर्थकहरूसँग हात मिलाएका थिए ।
उनी धनकुटाबाट बाहिरिएपछि बजारमा विभिन्न चर्चा परिचर्चा सुरु भएको छ । धनकुटाबाट विराटनगर हुँदै शाह आज साँझ काठमाडौं गएका छन् ।

सन्तोष सुवेदी/संगालोखबर 













