
धनकुटा । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज तालिका बमोजिम स्वतन्त्र उमेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो ।
धनकुटाबाट प्रतिनिधिसभा निर्वाचनका लागि ४ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसमध्ये गंगाराम गोम्देनले उम्मेदवारी फिर्ता लिएका छन् । बाँकी तीन जना स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ, जितेन्द्र राई र मनकुमार योञ्जनलाई निर्वाचन चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन अधिकृत माधवकुमार अधिकारीका अनुसार स्वतन्त्र उम्मेदवार तामाङलाई जीप, राईलाई आँप र योञ्जनलाई ढिकी चुनाव चिन्ह प्रदान गरिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका १८ मध्ये एक जनाले फिर्ता लिएपछि धनकुटामा १७ जना चुनावी मैदानमा छन् । एउटै मात्रै निर्वाचन क्षेत्र रहेको धनकुटामा एक लाख १८ हजार ४२४ मतदाता छन् ।

सन्तोष सुवेदी/संगालोखबर 













