
उदयपुर । उदयपुरको बेलका नगरपालिका-७ कान्चिराङ क्षेत्रबाट प्रहरीले गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका-७ खमारेका २१ वर्षीय उमेश राई छन् । अन्य २ जना नाबालक रहेका प्रहरीले जनाएको छ ।
उदयपुरका प्रहरी प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार १४३ किलो गाँजा बरामद भएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार करिब ८ः४० बजे पक्राउ गरेको हो ।
बोरामा प्याक गरिएको सामान बोकेर पैदल हिँड्दै गरेका ३ जनालाई शङ्कास्पद अवस्थामा देखेपछि प्रहरीले रोकेर चेकजाँच गरेको थियो । सो क्रममा गाँजा बरामद भएको डीएसपी दोङले जानकारी दिए । नाबालकलाई गाँजा ओसार-पसारमा संलग्न गराउनुलाई गम्भीरतापूर्वक लिएको प्रहरीको भनाइ छ ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा राखेर थप अनुसन्धान अघि बढाइएको छ । यसमा जोडिएको समूहको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













