
विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा विद्यालयस्तरीय मेयर कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्ने र खेलप्रति विद्यार्थीलाई आकर्षित गराउने उद्देश्यले माघ ६ गतेदेखि अण्डर-१६ फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।
आदर्श माध्यमिक विद्यालयको समन्वयमा हुने प्रतियोगितामा महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक र संस्थागत गरेर २५ वटा विद्यालयले सहभागिता जनाउने छन् । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ प्रतियोगिता गर्न लागिएको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए ।
माघ ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ५ सय विद्यार्थीले सहभागिता जनाउने उनको भनाइ छ । कक्षा १२ सम्म अध्ययनरत १६ वर्ष उमेर पूरा नभएका विद्यार्थी खेलाडीले मात्र प्रतियोगितामा भाग लिन पाउनेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै द्वितीय हुने विद्यालयले ७५ हजार र तृतीय हुने दुईवटा विद्यालयलाई ३५-३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
जिल्ला फुटबल संघले प्राविधिक सहयोग गर्ने प्रतियोगिता सहीद रंगशाला र दिल्ली पब्लिक स्कुलको खेल मैदानमा सञ्चालन हुनेछ ।

संगालोखबर 













