
धनकुटा । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले जनताका कामलाई विषेश प्राथमिकता दिने बताएका छन् । शनिबार धनकुटाको पाख्रीबासमा नेपाल मगर संघ तथा पञ्चबुद्ध (बाङालोन) विहारले आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा मन्त्री पराजुलीले यस्तो बताएका हुन् ।
माध्या सकराटी पर्व तथा ५०१९ औं मिना ल्हेसको अवसरमा आयोजित कार्यक्रममा उनले नीति निर्माण गर्ने मन्त्रालय भएको हुँदा सोही अनुसार काम गर्ने बताए ।
प्रदेशका सबै जनताको साथ सहयोग र आवश्यक समन्वयसहित नजिक रहेर काम गर्ने मन्त्री पराजुलीको भनाइ थियो । ‘काम गर्दा समस्या उत्पन्न हुन्छन्’, उनले भने, ‘त्यसैले समन्वयको आवश्यक छ । केही परेमा सिधै मलाई सम्पर्क गरेर आफ्ना कुरा राख्न सक्नुहुन्छ ।’

उनले नेपालमा बहुजातजातिको बसोबास रहेकाले मगर जातिको कला संस्कृति प्रति सम्मान रहेको बताए । कला संस्कृति प्रति सबैले आफ्नो ठाउँबाट सदैव सम्मान गर्ने बताउँदै उनले कुनै पनि जातजातिको कला संस्कृति संरक्षण गर्नुपर्ने बताए ।
उनले कला संस्कृतिको संरक्षणका लागि प्रदेश सरकारबाट आवश्यक बजेट बिनियोजन गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर । कार्यक्रममा मगर जातिको हुर्रा नाच लगायत विभिन्न कला संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए ।

पछिल्लो समय मगर जातिको लोक संस्कृतिको जगेर्ना गर्न लागिपरेको नेपाल मगर संघ तथा पञ्चबुद्ध (बाङालोन) विहारका अध्यक्ष हिक्मत कुमार आलेले बताए । सोही अवसरमा संघको भवन निर्माणमा जग्गा प्रदान गर्नेहरूलाई सम्मान गरिएको थियो ।

सन्तोष सुवेदी/संगालोखबर 













