
धनकुटा । धनकुटामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज जिल्ला निर्वाचन कार्यालय धनकुटाले एक कार्यक्रमको आयोजना गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो ।
धनकुटा नगरपालिका-५ स्थित सामुदायिक भवनमा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालत धनकुटाका न्यायाधीश हरिश्चन्द्र इङनामले कार्यालयको उद्घाटन गरेका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । उद्घाटन समारोहमा बोल्दै निर्वाचन अधिकृत इङनामले चुनावका लागि सहयोग गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले चुनाव शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै दलहरूको साथ सहयोग आवश्यक पर्ने बताए ।
कार्यक्रममा राजनीतिक दलहरूले चुनाव केन्द्रिय भएर लागेको बताउँदै यसका लागि साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । कार्यालय स्थापनामा जिल्लाका सुरक्षा निकाय प्रमुख, निर्वाचन कार्यालयका कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थित थियो ।

सन्तोष सुवेदी/संगालोखबर 













