
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाले नेपालमै पहिलो पटक बीउ बैंक सञ्चालनमा ल्याएको छ । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा प्रथम कन्दमूल प्रदर्शनी कार्यक्रमको अवसरमा आजबाट बीउ बैंक सञ्चालनमा ल्याइएको हो ।
एक वर्ष अघि आयोजना गरेको कृषि बीउ प्रदर्शनीबाट बीउ बैंक स्थापनाको अवधारणा शुरु भएको नगरप्रमुख सुरेन्द्रकुमार सुन्दासले बताए ।
उनले बिउ बैंक परम्परागत कृषि प्रणाली, कृषकको ज्ञान र स्थानीय श्रोत साधनप्रतिको सम्मानको प्रतिविम्ब रहेको बताए । नगरपालिकाले बीउ बैंक स्थापनाका लागि कार्यविधि तयार गरि राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।
रैथाने जात लोप हुँदै गएकाले बीउ संरक्षणका लागि नगरपालिकाले अग्रसरता लिएको उनको भनाइ छ । नगरप्रमुख उदासले कृषकलाई व्यवसायिकरण गर्न बीउ बैंकले सहयोग पुग्ने आशा व्यक्त गरे ।
नगरले सुन्तला, अलैँची लगायतका बालीको उत्पादन बढाउन प्रबर्द्धन गरिरहेको उल्लेख गर्दै उनले किसानबाट बीउ खरिद गरेर आवश्यक पर्नेलाई वितरण गरिने नगरप्रमुख उदासले बताए ।
षडानन्दमा बीउ बैक स्थापनाको परिकल्पनाकार कृषि विज्ञ सामुदायिक बीउ बैंकका सल्लाहकार पीताम्बर श्रेष्ठले बीउ बैंकमा अहिले २७ बालिका १ सय १५ जात रैथाने लोपोन्मुख बीउहरू रहेको जानकारी दिए ।
नगर उपप्रमुख प्रमिला राईले लोप हुन लागेको बालीको संरक्षणका लागि नगरपालिकाले काम गरिरहेको बताइन् । चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस तथा बीउ बैंक स्थापनाको अवसरमा नगरपालिकाले एक दिने कन्दमूल प्रदर्शनी पनि गरेको छ ।

संगालोखबर 













