
विराटनगर । झापामा भएको सवारी दुर्घटनामा आमा-छोराको मृत्यु भएको छ । कनकाई नगरपालिका-३ नयाँ बस्तीस्थित पूर्वपश्चिम लोकमार्गमा भएको दुर्घटनामा भद्रपुरका डेढ वर्षीय बालक आरुति राजवंशी र उनकी आमा ४० वर्षीया सुस्मा राजवंशीको मृत्यु भएको हो ।
बालकको बिर्तामोडस्थित बीएण्डसी अस्पताल र आमाको बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअपमा सवार अन्य ११ जना घाइते भएका छन् । उनीहरूमध्ये फुलमुन्नि मुर्मु, जमुना राजवंशी र अनिष राजवंशीको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै पुष्पलाल राजवंशी, आफुद राजवंशी, आशिष राजवंशी, टेमुना राजवंशी, अन्जली राई, अभिषेक राजवंशी, कृतिका राजवंशी र पाथल राजवंशीको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान करिब ९ः३० बजे बिर्तामोडबाट माईधारतर्फ जाँदै गरेको मे १ च ४५१५ नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २१४९ नम्बरको बस ठोक्किएका हुन् ।
पिकअप चालक बिर्तामोड नगरपालिका-६ का ३९ वर्षीय जाकिर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













