
धनकुटा । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अर्थात पुस २७ गते सुनसरीको विजयपुरगढीदेखी सुरु भएको पदयात्रा धनकुटाको पाख्रीबास नगरपालिका-९ स्थित धर्मशाला आइपुगेको छ ।
विजयपुर–साँगुरीगढी–पाख्रीबास पदयात्रामा निस्किएको नेपाली सेनाको टोली आज तेस्रो दिन पाख्रीबासको धर्मशाला आइपुगेको हो । पहिलो दिन विजयपुरगढी देखी धनकुटको साँगुरीगढीसम्म पदयात्रा भएको थियो । यस्तै दोस्रो दिन साँगुरीगढीदेखी धारापानी, घण्टे, फेदी, हुँदै मूलघाट आइपुगेको थियो ।
साँगुरीगढीबाट करिब ९ किलोमिटर दूरी पार गर्दै धनकुटा नगरपालिका-९ स्थित मूलघाट आइपुगेको पदयात्रा टोलीलाई साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई, जनप्रतिनिधि, स्थानीय र विद्यार्थीहरूले बिदाइ गरेका थिए ।
मूलघाटबाट करिब १४ किलोमिटर यात्रापछि टोली धर्मशाला आइपुगेको श्री भीमदल गण सल्लेरी धनकुटाका गणपति गणेश थापाले जानकारी दिए । ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रा गरिएको उनले बताए ।
धर्मशाला आइपुगेको पदयात्रा टोलीलाई धनकुटा नगरपालिका-९ का वडाध्यक्ष टंक रोइला, स्थानीय तथा विद्यार्थीहरूले भव्य स्वागत गरेका छन् । टोली भोलि पाख्रीबास पुग्ने र पदयात्रा समापन गरिने नेपाली सेनाले जनाएको छ ।
नेपालको एकीकरणको दौरानमा फुस्रे, चिउरीबास, साँगुरीगढी, फेदी, टेकुनाला, धनकुटा, बेलहरा, उत्तरपानी, हिले, पाख्रिबास लगायतका स्थानमा पुग्न प्रयोग भएका मार्गलाई जीवन्त राख्न र आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन पदयात्रा गरिएको बताइएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













