संगालोखबर


झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थप मतान्तरले जित्ने एमाले झापा अध्यक्ष प्रेम गिरीले बताएका छन् ।

बालेन शाहले झापा–५ बाट चुनाव लड्ने चर्चाबीच अध्यक्ष गिरीले पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले बालेन झापा–५ बाट चुनाव लडेमा ओलीले झन धेरै मत पाउने दाबी गरे ।

पार्टी अध्यक्ष ओलीको नाम झापा–५ बाट एकल सिफारिस भएको जानकारी दिदैं गिरीले बालेन आए एमालेले मतान्तर थप बढाउने उल्लेख गरे । उनले झापा–५ बाट बालेनले चुनाव लडेर केही फरक नपर्ने बताए ।

‘हामीले जनताको काम गरेका छौँ’, उनले भने, ‘बालेन झापाबाट उम्मेदवार बन्छन् भन्ने विश्वास छैन । बनेमा पनि फरक पर्नेवाला छैन ।’

अध्यक्ष गिरीले कुलमान घिसिङ र बालेनलाई रास्वपासँग अदृष्य शक्तिले जबरजस्ती मिलाएको दाबी गरेका छन् । ‘कुलमान जी बाहिरिसक्नुभयो । बालेन जीलाई पनि रास्वपाले मनदेखि स्वीकार्न सक्दैन’, उनले भने, ‘रास्वपाले बालेनको राजनीति झापाबाटै सिध्याउने रणनीति बनायो । क्षेत्रमा पनि रास्वपाका कार्यकर्ताले बालेनलाई स्वीकार गर्न सक्दैनन् ।’

बालेनलाई अदृष्य शक्तिहरूले नै प्रधानमन्त्री घोषणा गरेको बताउँदै गिरीले उक्त घोषणा रास्वपालाई मन नपरेको प्रतिक्रिया दिए । परिस्थितिजन्य बाध्यताका कारण रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको गिरीको भनाइ छ ।

उनले एमाले आफ्नो संगठनको बलमा निर्वाचन लड्ने बताउँदै उनले झापा क्षेत्र नम्बर ५ मा अध्यक्ष ओली अत्याधिक मतका साथ विजयी हुने बताए । विकास निर्माणको कामप्रति जनता सन्तुष्ट रहेको र बालेन टुरिस्ट उम्मेदवार हुँदा ओलीलाई निर्वाचन जित्न धेरै सजिलो हुने गिरीको भनाइ छ ।

अघिल्लो निर्वाचनमा अध्यक्ष ओली २८ हजार ५७६ मतान्तरले निर्वाचित भएका थिए । गठबन्धनको तर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई ओलीले दोब्बर बढी मतान्तरले पराजित गरेका थिए ।

ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दा २३ हजार ७४३ मत प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत पाएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!